योगदर्शनको भूमिका

अनेकौं पूर्वीय दर्शनहरूमा योगदर्शनको स्थान अत्यन्त महत्वपूर्ण छ । यो त थाहा भएको नै कुरा हो कि पूर्वीय दर्शनको चरम लक्ष्य भनेको प्राणीहरूको आध्यात्मिक, आधिदैविक र अधिभौतिक दुःखहरूबाट सदाका लागि छुट्कारा दिलाउँनु हो । यस दुःखको आत्यान्तिक निवृत्तिलाई मुक्ति, मोक्ष, कैवल्य, अपवर्ग, निर्वाण, निश्रेयास्, परमपद इत्यादि शब्दहरूले पुकारिने गरिएको छ । यस आत्यन्तिक दुःखनिवृत्तिको प्राप्तिका लागि प्रायः सबै दर्शनहरूले पदार्थको विशुद्ध ज्ञानलाई कुनै न कुनै ढङ्गबाट अपरिहार्य मानेका छन् । यो तथ्यलाई वेदले पनि ‘ऋते ज्ञानान्न मुक्ति’ (विना ज्ञान मुक्ति सम्भव छैन) भनी स्वीकारेको छ । पदार्थको विशुद्ध ज्ञानलाई विभिन्न दर्शनहरूमा तत्त्ववज्ञान, सम्यक्ज्ञान, तत्त्ववसाक्षात्कार, परमज्ञान, विज्ञान, प्रसंख्यान र विवेकख्याति इत्यादि नामहरूले पुकारिएको पाइन्छ ।
 
तत्त्ववज्ञान साङ्ख्यदर्शनमा विवेकख्यातिको नामबाट र योगदर्शनमा प्रसंख्यान वा परवैराग्यको नामबाट प्रसिद्ध छ । ईश्वरकृष्णको साङ्ख्यदर्शनमा यो अपरोक्ष पुरुषानुभूति, जो कि योगदर्शनअनुसार निरुद्ध अवस्था (असम्प्रज्ञात समाधि) मा हुन्छ, को विषयमा केही पनि बताइएको छैन । नैयायिक, वैशेषिक र मीमांसकहरूले वृत्तिज्ञानदेखि पर कुनै अरू अपरोक्ष ज्ञानको कल्पना गर्न सकेनन् । यो कुरा छुट्टै हो कि अद्वैतवेदान्तदर्शनले प्रत्येक चेतन र ब्रह्मको ऐक्यको अपरोक्ष अनुभूतिरूप ज्ञानलाई नै मोक्ष या मोक्षको कारण मानेको छ । विशुद्ध ज्ञान प्राप्त गर्ने उपाय वा प्रक्रिया निकै नै जटिल र दरूह छ । किनकि त्यो विशुद्ध ज्ञानको प्राप्तिका लागि चित्तनाश गर्नु अति आवश्यक छ । चित्तनाश गर्नु अर्थात् साक्षीबाट साक्षीको उपाधिभूत चित्तलाई अगल गरी साक्षीको दर्शन गर्नु हो । चित्तनाश गर्ने दुईवटा उपायहरू छन् — १. असम्प्रज्ञात समाधि र अर्को २. विचार ।
 
यस विषयमा मधुसूदन स्वामीले गीताको छैटौं अध्यायको उनन्तीसौं श्लोकको मधुसूदनी व्याख्यामा भनेका छन् – “यथा हि चित्तवृत्तिनिरोधः साक्षिसाक्षात्कार हेतुः, तथा जडविवेकेन सर्वानुस्यूतचैतन्यपृथक्करणमपि, नावश्यं योग एवापेक्षितः । अत एवाह वासिष्ठः –“द्वौ क्रमौ चित्तनाशस्य योगो ज्ञानं च राघव ! योगो वृत्तिनिरोधो हि, ज्ञानं सम्यगवेक्षणम् । असाध्यः कस्यचिद् योगः कस्यचित् तत्त्ववनिश्चयः । प्रकारौ द्वौ ततो देवो जगाद परमः शिवः ।। इति । चित्तनाशस्य = सक्षिणः सकाशात् तदुपाधिभूतचित्तस्य पृथक्करणत् तद्दर्शनस्यः, तस्योपायद्वयम्–एकोऽसम्प्रज्ञातसमाधिः । संप्रज्ञातसमाधौ हि आत्मैकाकारवृत्तिप्रवाहयुक्तमन्तःकरणसत्त्ववं साक्षिणाऽनुभूयते । निरुद्धसर्ववृत्तिकं तूपशान्तत्त्ववान्नानु–भूयते–इति विशेष । द्वितीयस्तु– ‘साक्षिणि कल्पितं साक्ष्यमनृतत्वान्नास्त्येव । साक्ष्येव तु परमार्थसत्यः केवलो विद्यते’ इति विचारः । तत्र प्रथमोपायं प्रपञ्चपरमार्थतावादिनो हैरण्यगर्भादयः प्रपेदिरे । तेषां परमार्थस्य चित्तस्यादर्शनेन साक्षिदर्शने च निरोधातिरिक्तोपायासंभावात् श्रीमच्छंकरभगवत्पूज्यपादमतोपजीविनस्त्वौपनिषदाः प्रपञ्चानृतत्ववादिनो द्वितीयमेवोपायमुपेयुः । तेषां ह्यधिष्ठानज्ञानदाढ्र्ये सति, तत्र कल्पितस्य बाधितस्य चितस्य तद्दृश्यस्य चादर्शनमनायासेनैवोपपद्यते ।”
 
सबैबाट विचार संभव नहुने भएको हुनाले यस विशुद्ध ज्ञान प्राप्तिको दुरूह र जटिलतालाई योगदर्शनले सरलतामा बदलिदिएको छ । हुन त पूर्वीय सबै दर्शनहरूले आ–आफ्नो ढंगबाट ज्ञान उत्पन्न गर्ने साधनहरू बताएका छन् तैपनि ती सबैले योगको व्यवहारिक पक्षलाई अपरिहार्य रूपबाट स्वीकारेका छन् । यसैबाट यो अनुमान लगाउन सकिन्छ कि योगदर्शनको के कति महत्ता छ भनेर । त्यसैले यो त किटेर भन्न सकिन्छ कि योगदर्शनको आफ्नो छु्ट्टै वैशिष्ठ्य छ । वेदान्तलाई छाडेर अन्य सबै दर्शनहरू योगको उच्चभूमि असम्प्रज्ञातसम्म पुग्न सक्दैनन् ।
 
 
                             योगको आदि वक्ता हिरण्यगर्भ
 
 
सम्प्रज्ञात र असम्प्रज्ञात यी दुवै प्रकारका योगको प्राणप्रतिष्ठा यद्यपि पतञ्जलि ऋषिरचित योगसूत्रबाट नै भएको छ । तैपनि पतञ्जलिलाई योगदर्शनको आदि प्रवक्ता मान्न सकिँदैन । किनकि योगी याज्ञवल्क्यले “हिरण्यगर्भो योगस्य वक्ता न्यान्यः पुरातनः” (हिरयण्गर्भ नै योगको आदि वक्ता हुन्, अन्य व्यक्ति होइन ।) भनेका छन् । पतञ्जलि ऋषिले पनि स्वयं यस तथ्यलाई “अथ योगानुशासनम्” यस सूत्रमा आएको अनुशासन शब्दले गरेका छन् । वाचस्पतिमिश्रले यस ‘अनुशासनम्’ शब्दको व्याख्या गर्दै भनेका छन् – ‘ननु हिरण्यगर्भो योगस्य वक्ता नान्य पुरातनः’ इति योगियाज्ञवल्क्यस्मृतेः, कथं पतञ्जलेः योगशास्त्रवक्तृत्वमित्याशंक्य सूत्रकारेण उक्तम् अनुशासनमिति । ‘शिष्टस्य शासनम् अनुशासनमित्यर्थः’ । शिष्ट पुरुषहरूले गरेको शासन (उपदेश) लाई अनुशासन भनिन्छ । अर्थात् पतञ्जलि स्वयंले यो स्वीकार गरेका छन् कि उनले गरेको यो योगशास्त्रको उपदेश शिष्ट पुरुषहरूको उपदेशको अनन्तर (पश्चात्) हो । पतञ्जलिले यस योगसूत्रमा आफ्नो कुनै नयाँ संज्ञा वा परिभाषा दिएनन् । बरू उल्टै योगको विषयमा प्रचलित संज्ञा, परिभाषा, पद र रीति–निमहरूलाई अपनाई वर्गीकरण गरेका छन् । यसको स्पष्ट प्रमाण विभूतिपादका यी सूत्रहरू हुन् – “भुवनज्ञानं सूर्ये संयमाद्, चन्द्रे ताराव्यूहज्ञानम्, कण्ठकूपे क्षुत्पिपासानिवृत्तिः, कूर्मनाड्यां स्थैर्यम्” (योग.सू. ३ –२६ … ३१) । किनकि यी सूत्रहरू कुनै शब्दशः र कुनै अगाडिपछाडि हेरफेर गरी शाण्डिल्य उपनिषद्‌बाट लिइएको हो । शाण्डिल्योपनिषद्‌मा यही चीज यसरी उल्लेख गरिएको छ – “सूर्ये चित्तसंयामाद् भुवनज्ञानम्, चन्द्रे चित्तसंयमाद् ताराव्यूहज्ञानम्, ध्रुवे तद्गति दर्शनम्, नाभिचक्रे कायव्यूहज्ञानम्, कण्ठकूपे क्षुत्पिपासा निवृत्तिः, कूर्मनाड्यां स्थैर्यम्, तारे सिद्धदर्शनम् ” इत्यादि कहाँ संयम गर्‍यो भने के सिद्धि हुन्छ भनेर बताइएको छ । योगसूत्रमा त शाडिल्योपनिषद्‌मा बताइएका सिद्धिहरूको सङ्केत मात्र छ । योगसूत्रको सिंहावलोकन गर्ने हो भने यो कुरा स्पष्ट विदित हुन्छ कि त्यस समय (योगसूत्रहरूको रचनाकाल) सम्ममा योग सम्बन्धी कयौं सिद्धान्तहरू विद्वान्‌हरूमा विदित र प्रचलित भइसकेका थिए । यद्यपि सूत्रकारले पूर्ववर्ती आचार्य र ग्रन्थहरूको कहीँ पनि उल्लेख गरेका छैनन् । तैपनि अधिकांश विषयहरूलाई युक्ति (तर्क) र प्रमाणहरूले सिद्ध गर्ने चेष्टा नगर्नु यस कुराको सूचक हो कि त्यस समयसम्ममा विद्वज्जनहरूमा योगको विषय संज्ञा आदि विदित र प्रचलित थियो । किनकि कोही पनि विद्वा‌न्‌ले यदि नयाँ विषय प्रतिपादन गर्छ भने त्यसलाई सिद्ध गर्नका लागि सकेसम्मको युक्ति र प्रमाणहरू जुटाउँने कोसिस गर्छ । किनकि यहाँ (सूत्रमा) त्यस्तो किसिमको कुनै प्रयास देखिएको छैन । अतः त्यस समयमा योग विषय सामान्य रूपमा विद्वत् समुदायमा प्रसिद्ध नै थियो ।
 
मैले भर्खरै माथि उल्लेख गरेको थिएँ कि योगका आदि (प्रथम) वक्ता पतञ्जलि नभई हिरण्यगर्भ थिए । त्यसका लागि याज्ञवल्क्यस्मृति प्रमाण रूपले प्रस्तुत पनि गरियो । अब प्रश्न यो आउँछ कि यी हिरण्यगर्भ को थिए त ? किनकि ‘हिरण्यगर्भ’ शब्दको अनेकौ अर्थ हुन्छन् । तीमध्ये ब्रह्म, सूर्य, विष्णु र अग्नि आदि प्रमुख हुन् । यस प्रश्नको उत्तरमा “कपिलोऽग्रज इति पुराणवचनात् कपिलो हिरण्यगर्भो वा व्यपदिश्यते”, (श्वे.उ.शा.भा.) यो शंकराचार्यको र “कपिलो नाम विष्णोरवतारविशेषः प्रसिद्धः स्वंभूः हिरण्यगर्भस्तस्यापि साङ्ख्योगप्राप्तिर्वेदे श्रुयते । स एव ईश्वर आदि विद्वान् कपिलो विष्णुः स्वंभूरीति भावः” ( त. वै.) यो वाचस्पतिमिश्रको कथनबाट यही नै सिद्ध हुन्छ कि कपिलमुनि नै हिरण्यगर्भ हुन् ।
 
“कपिलस्यापि जायमानस्य महेश्वरानुग्रहादेव ज्ञानप्राप्तिः श्रूयते” (त.वै.) यस कथनअनुसार कपिललाई पनि अनुग्रहबाट नै ज्ञान प्राप्ति भएको थियो । कपिल मुनि अपरपर्याय हिरण्यगर्भ श्रुतिस्मृतिहरूमा सिद्ध ऋषिमुनिको रूपमा प्रसिद्ध छन् । गीतामा भगवान् श्री कृष्णले “सिद्धानांं कपिलो मुनिः” (१०÷२३) भनी उनलाई सिद्धहरूमा अग्रगण्य बताएका छन् । यिनी योगको मात्र उपदेष्टा नभई साङ्ख्यदर्शनको पनि अदिवक्ता रहेका छन् । संभवतः यिनले साङ्ख्यमा सैद्धान्तिक पक्षलाई निरूपण गरी योगमा साधना पक्षको प्रतिपादन गरेका हुन् । हुन त साङ्ख्य र योग यी दुबै छुट्टाछुट्टै दर्शनहरू हुन् । किनकि कतिपय योगका यस्ता सिद्धान्तहरू छन्, जो साङ्ख्यलाई स्वीकार्य छैन र साङ्ख्यमा उल्लेख नभएको सिद्धान्त योगमा निरूपण गरिएको छ । तीमध्ये ‘ईश्वरको प्रतिपादन, असम्प्रज्ञात समाधिका लागि ईश्वरप्रणिधानलाई कारण बताउनु इत्यादि प्रमुख सिद्धान्त रहेका छन् । यिनै विषमताहरूलाई लिएर दुबैलाई छुट्टाछुट्टै दर्शन मानिएको छ ।
 
पतञ्जलि
 
पतञ्जलिले वेद, इतिहास, पुराण र स्मृतिहरूमा छरिएर रहेका योगहरूको सिद्धान्त र साधन पक्षलाई छरिएका मोतिका दानाहरूलाई मालामा उनेझैं सूत्र रूपले निबद्ध गरिदिएका छन् । उनले रचेका सूत्रहरू यति सरल र सुस्पष्ट छन् कि असंस्कृतज्ञ व्यक्तिहरूलाई पनि त्यसमा दृष्टिपात मात्रले भावार्थ हृदयंगम हुन्छ । संस्कृत साहित्यमा पतञ्जलिको आविर्भाव एक अलौकिक र चमत्कारपूर्ण घटना हो । किनकि यिनले योगसूत्रको मात्र नभई व्याकरण शास्त्रमा अतिशय प्रामाणिक मानिने व्याकरणमहाभाष्यको रचना गरेका छन् । जो स्वयंमा अलौकिक छ । त्यो महाभाष्य स्वयं स्वतन्त्र ग्रन्थ नभई पाणिनिरचित अष्टाध्यायी नामक व्याकरण सूत्रको व्याख्यानात्मक ग्रन्थ हो । हुन त यो महाभाष्य व्याकरण सूत्रको व्याख्यानको रूपमा प्रसिद्ध छ तर वास्तवमा हेर्ने हो भने यो भाष्य सूत्रमाथि लेखिएको वार्तिकको व्याख्यान रूप हो । अनेकौं पश्चिमी विद्वान् र तिनका अनुयायी पूर्वीय विद्वानहरूले पनि योगसूत्रकार र महाभाष्यकारलाई अलगअलग व्यक्ति हो भनी सिद्ध गर्ने कुचेष्ट गरेका छन् । तर यो कुरा भारतीय सम्प्रदायमा, चाहे त्यो सम्प्रदाय व्याकरणको होस् अथवा योगको वा आयुर्वेदको होस्, सबैले पतञ्जलिलाई एक व्यक्तिकोरूपमा स्वीकार गरेका छन् ।
 
वैयाकरण भर्तृहरिले आफ्नो “वाक्यपदीय’’ नामक ग्रन्थको ब्रह्मकाण्डमा “चरकसंहिता”, “योगसूत्र” र “महाभाष्य” यी तीनैको कर्ताको रूपमा पतञ्जलिलाई प्रतिपादन गरेका छन् –“कायवाग्बुद्धिविषया ये मलाः समुपस्थिताः चिकित्सालक्षणाध्यात्मशास्त्रैः तेषां विशुद्धयः ।।” वाक्यपदीको टीकाकार पुण्यराजले यो श्लोकको आशय निकालेका छन् कि यसमा पतञ्जलिको प्रशंसा गरिएको छ । योगसूत्रमाथि राजमार्तण्डवृत्ति लेख्ने भोजराजले त असंदिग्ध रूपमा महाभाष्यकारलाई नै वैद्यकशास्त्र र योगसूत्रको रचयिता मानेका छन् “शब्दानामनुशासनं विद्धता, पातञ्जले कुर्वता, वृत्तिं राजमृगाङ्कसंज्ञकमपि व्यातन्वता वैद्यके । वाक्चेतोवपुषां मलः फणमृतां भत्र्रेव येनोद्धृतस्तस्य श्री रणरंगमल्लनृपतेर्वाचो जयन्त्युज्ज्वलाः ।।”
 
जति पनि प्राचीन दार्शनिक लेखकहरू भए, तिनीहरूको लेखबाट यो तथ्य अगाडि आएको छ कि उनीहरूको समयसम्म अनेक पतञ्जलि, अनेक व्यास मान्ने कुनै शङ्का उपस्थित भएको थिएन । उनीहरू निभ्र्रान्त रूपबाट एकै पतञ्जलि एकै व्यासलाई मान्ने गर्दथे । ( यो कुरा छुट्टै हो कि पुराणहरूमा व्यासजीलाई कल्प भेदमा अलगअलग मानिएको छ । तर एउटै कल्पमा चाहिँ अलगअलग मानिएको छैन ।) यो त पश्चिमी विद्वान्हरूको देन हो कि हाम्रै संस्कृतिमा घुसेर हामीले प्रतिपादन गरेका चीजहरूलाई अनेकौं विपत्तिहरू दिएर हामीलाई नै भ्रान्त गराउन खोजिरहेका छन् । धेरै मात्रामा सफल पनि भएका छन् । किनभने हाम्रा पूर्वीय विद्वानहरूले पनि उनीहरूकै अनुकरण गर्न थालिसकेका छन् । गुणग्राहिता र अनुकारितामा धेरै अन्तर हुन्छ । गुणग्राहिता स्वयं एक गुण हो जस्मा विवेचन शक्तिको प्राधान्य हुन्छ र अनुकारिता स्वयं एक बुद्धि मान्धताको सूचक हो ।
 
वेदव्यास
 
यदि योगसूत्रमाथि प्राचीन, प्रामाणिक र निभ्र्रान्त टीका खोज्ने हो भने व्यास भाष्य नै यस्तो टीका मिल्ने छ । किनकि व्यास भाष्य योगसूत्रको सर्वोत्तम प्राचीन टीका हो । यद्यपि यस भाष्यका अनेकौं वाक्यहरू साकाङ्क्ष भएको हुनाले क्लिष्ट भए झैं लाग्छ तैपनि योगको परिभाषिक शब्दविद्हरूलाई ती वाक्यहरू सुगम नै लाग्छन् । यस भाष्यका रचनाकार महर्षि भगवान् वेदव्यास हुन् । यी व्यासभाष्यकारको विषयमा विद्वान्हरूमा मतैक्य छैन । वेदव्यासको विषयमा उनीहरूकोे धारणा यसप्रकारको छ ः–
 
१. योगभाष्यको रचनाकार वेदव्यास होइनन् ।
 
२. अथवा, व्यास नामक व्यक्तिद्वारा रचित भए तापनि ती व्यास, पुराणहरूको रचयिता वेदव्यासभन्दा भिन्न हुन् ।
 
३. ब्रह्मसूत्रको रचयिता वादरायण (व्यासको अर्को नाम) पनि यी दुबै व्यासबाट भिन्न हुन् ।
 
यसरी हामी यहाँ देख्न सक्छौ कि विद्वानहरूले कसरी विप्रतिपत्ति फैलाएका छन् ।
 
पुराण, ब्रह्मसूत्र र योगभाष्य यी तीनैका रचयिता वेदव्यास भिन्नभिन्न व्यक्तिहरू हुन् भन्ने सिद्ध गर्नका लागि निम्न लिखित युक्तिहरू दिन्छन् –
 
१. यदि पुराणहरूको रचियतालाई नै ब्रह्मसूत्रको पनि रचयिता मान्ने हो भने पुरातन परम्परामा नै अन्तर्विरोध आउँछ ।
 
अन्तर्विरोध यसप्रकार छ – परम्पराअनुसार याज्ञवल्क्य वेदव्यासको शिष्य परम्परामा तेस्रो वा चौथो पिँढीमा आउँछन् । तर बृहदाराण्यकोपनिषद्मा सङ्कलित विचारहरूलाई वादरायणले ब्रह्मसूत्रमा मीमांसा गरेका छन् । यदि ब्रह्मसूत्र र पुराणहरूका रचयिता एक मान्ने हो भने यो कसरी सम्भव हुन्छ कि पूर्ववर्ती (व्यास) व्यक्तिले परवर्ती व्यक्ति (यज्ञवल्क्य) को विचारलाई विमर्श गरोस् ।
 
२. प्राचीन परम्पराले कृष्णद्वैपानलाई ब्रह्मसूत्रको कर्ता रूपमा प्रतिपादन
 
गर्दैनन् ।
 
३. योगभाष्यमा पुराणहरूको उद्धरण व्यासोक्तिको रूपमा दिइएको छ ।
 
समाधान
 
उपर्युक्त कुराहरू सरसर्ती हेर्दा आपात रमणीय भए तापनि वास्तवमा सम्प्रदायबाट हेर्ने हो भने कुनै प्रामाणिकता देखिँदैन । किनकि सम्प्रदायवित् आचार्यहरूले यसरी भनेका छन् –“नत्वा पतञ्जलिमृषिं वेदव्यासेन भाषिते” त.वै. । यसरी तत्ववैशारदीकार वाचस्पति मिश्रले आफ्नो टीकामा यस भाष्यलाई वेदव्यासद्वारा भाषित बताएका छन् । विज्ञानभिक्षुले “सर्ववेदार्थसारोऽत्र वेदव्यास भाषितः” भनेका छन् । भास्वतीकार हरिहरानन्द अरण्यले पनि ग्रन्थारम्भमा भनेका छन् – “तं भाष्यकृतं व्यासमुनिं नमामि” र “रत्नाकरप्रवादानां भाष्यं व्यासनिर्मितम् ।” यसबाट यो निश्चित हुन्छ कि साङ्ख्यप्रवचन भाष्यको रचयिता व्यास हुन् भनेर कुनै पनि पुरातन आचार्यहरूले यस विषयमा कुनै पनि विप्रतिपत्ति उठाएका छैनन् । अर्को कुरा वेदव्यासलाई ब्रह्मसूत्रकार मान्ने हो भने पुरातन परम्परामा अन्तर्विरोध आउँछ, जो भनियो, त्यो अन्तर्विरोध असम्भव छ । किनकि पुरातन परम्पराले वेदव्यासलाई सर्वज्ञ मानेको छ । त्यसै कारणले उनको शिष्य परम्पराको तेस्रो वा चौथो क्रममा आउने याज्ञवल्क्यको बृहदारण्यकोपनिषद्मा सङ्कलित विचारहरूको मीमांसा व्यासद्वारा ब्रह्मसूत्रमा गर्नु कुनै ठूलो कुरा होइन । यो जरुरी पनि छैन कि बृहदारण्यकोपनिषद्मा आएका याज्ञवल्क्य वेदव्यास कै शिष्य परम्पराका हुन् भनेर । किनकि बृहदारण्यकको भाष्यकर जगद्गुरु भगवान् श्रीशंकराचार्यजीले उपनिषद्मा आएका ती संवादहरूलाई आख्यायिकाको रूपमा ब्रह्मविद्याको स्तुतिपरक मानेका छन् । वेदव्यास पुरातन परम्पराअनुसार चिरञ्जीवी भएका हुनाले अर्वाचीन पतञ्जलिविरचित योगसूत्र माथि भाष्य लेख्नु कुनै ठूलो कुरा होइन । यस अलौकिकता र तदनुसार परम्परामा विश्वास गर्नु नै उचित हुन्छ । किनकि पहिले र अहिले पनि रामायण र महाभारत इत्यादिलाई कपोलकल्पित मानिएका थिए र मानिएका छन् पनि । अतः ती ग्रन्थमा प्रतिपादित व्यक्ति, स्थान र समय आदिको कुनै अस्तित्व स्वीकार गर्ने कुरै आउँदैन । तर जब नासास्थित अन्तरिक्ष केन्द्रले श्रीरामचन्द्रजीद्वारा निर्मित सेतुबन्धको अवशेष चित्र जारी गर्‍यो तब रामायण आदिलाई कापोलकल्पित बताउनेहरूका कुरा नै कपोलकल्पित हुन पुग्छन् । कतिपय अलौकिक घटनाहरू हाम्रा अगाडि यसरी उपस्थित भएका हुन्छन् कि जसलाई हामी चाहेर पनि अस्वीकार गर्न सक्दैनौं । ती घटनास्थितिहरू हाम्रो गाउँसमाजमा बारम्बार देखिने गरेका छन् । अतः त्यसको विषयमा विशेष चर्चा गर्नु कुनै आवश्यक छैन ।
 
वाचस्पतिमिश्र
 
व्यासभाष्य माथि सबैभन्दा विश्वसनीय टीका तत्ववैशारदी उपलब्ध छ । यसका रचयिता वाचस्पति मिश्र हुन् । यिनी मिथिला नामको देशका निवासी हुन् । यिनले प्रायः सबै प्रसिद्ध दर्शनहरूमाथि प्रौढ टीकाहरू लेखेका छन् । अतः यिनलाई “द्वादश दर्शनकाननपञ्चानन” र ‘‘सर्वतन्त्रस्वतन्त्र” उपाधि दिएको थियो । सम्पूर्ण दर्शनहरू माथि उनको अप्रहितगति सर्वविदित छ । तत्ववैशारदी टीका व्यासभाष्यको रहस्योद्घाटन गर्नमा यो बराबर अरू छैन ।

Author Socials Follow me